सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) उपाधि जनकपुर बोल्ट्सले जितेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर एनपिएल च्याम्पियन बनेको हो। जनकपुरको जितमा ओपनर लाहिरु मिलन्थाले उत्कृष्ट ब्याटिङले सफलता दिलाएको हो। सुदूरपश्चिमले दिएको १८५ रनको विशाल लक्ष्य जनकपुरले विकेटको ५ क्षतिमा १९.२ ओभरमा पूरा गरेको छ। लाहिरु मिलन्थाले ४९ बलमा ८७ रन जोडेपछि जनकपुरलाई जित निकाल्न सहज भएको थियो।
१६औं ओभरको तेस्रो बलमा सुदूरपश्चिमका स्कट कुगेलेइनको बलमा क्याच हुनुअघि उनले ९ चौका र ४ छक्का प्रहार गरे। ठूलो लक्ष्य भए पनि जनकपुरले उत्कृष्ट सुरुआत गरेको थियो। जनकपुरले ६ ओभरको पावरप्लेमा ७१ रन जोडेको थियो। कप्तान आसिफ शेख सातौं ओभरको अन्तिम बलमा ३३ रन बनाउँदा सइफ जइबको बलमा क्याच हुँदा जनकपुरले पहिलो विकेट गुमायो। १९ बलमा ४ चौका र २ छक्का प्रहार गरेका आसिफले पहिलो विकेटका लागि ओपनर लाहिरु मिलान्थासँग ७ ओभरमा ७३ रनको साझेदारी गरेका थिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो। ओपनरद्वय सैफ अलि जेब र बिनोद भण्डारीले शानदार सुरुआत दिलाए। उनीहरुले पहिलो विकेटका लागि एक सय १७ रनको साझेदारी गरे।
जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले तीन/तीन विकेट लिए भने जिमी निशम र ललित राजवंशीले एक/एक विकेट लिए। ८ टाेली सहभागी प्रतियोगिताको उपाधि विजेताले ट्रफीसहित १ करोड १० लाख, उपविजेताले ५१ लाख, तेस्रोले २५ लाख र चौथो हुनेले १५ लाख प्राप्त गर्नेछन्।