सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :४२ औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको टिमले हात पारेको छ ।
मंगलवार आज भएको फाइनलमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको टिमलाई २–१ गोल अन्तरले हराउँदै पोखराले उपाधि उचालेको हो । उपाधिसंगै पोखराले ३ लाख रूपैयाँ हात पारेको छ भने उपविजेता राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले १ लाख ५० हजार रूपैयाँमाम चित्त बुझाएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी र फेयर प्ले टिमले १५-१५ हजार रूपैयाँ तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले जनही १०÷१० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा गण्डकी प्रदेश प्रहरी कार्यालयका विवेक गुरूङ सर्वोत्कृष्ट खेलाडी, केशर बराम सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट फरवार्ड, जिवन सिंह ठकुरी उत्कृष्ट गोलकिपर, सन्तोष सुवेदी उत्कृष्ट प्रशिक्षक, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका मनोज बस्नेत उत्कृष्ट मिडफिल्डर तथा धन बहादुर आले उत्कृष्ट डिफेण्डर घोषित भएका थिए भने फेयर प्ले टिमतर्फ कोशी प्रदेश प्रहरी कार्यालयको टिम उत्कृष्ट घोषित भएको थियो ।
पुस ७ गतेबाट शुरू भएको उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सातवटै प्रदेश प्रहरी कार्यालयका गरी जम्मा १० वटा टिमको सहभागिता रहेको थियो ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा मंगलबार आयोजित एक कार्यक्रमबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित ४२औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ सम्पन्न भएको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रतियोगितामा बिजयी हुने गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा टिमका खेलाडी तथा अफिसियलहरूलाई पदक, प्रमाण–पत्र, रनिङ शिल्ड र नगद पुरस्कार प्रदान गरेका थिए । उनले म्याच रेफ्री, प्रायोजकहरू, सहभागी टिमहरू र अफिसियलहरूलाई मायाको चिनो प्रदान गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले यस्ता प्रतियोगिताले खेलकुदको विकासको साथै नयाँ प्रतिभावान् खेलाडीहरूको पहिचान गर्ने अवसरको रूपमा रहेको चर्चा गर्दै यस्ता प्रतियोगिताले समग्र नेपाल प्रहरीको फुटबल खेलको स्तरलाई सुदृढ तुल्याउन ठूलो योगदान पुर्या्एको बताए ।
प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा नेपाल प्रहरी संगठनमा आवद्ध खेलाडीहरूको सहभागिता र योगदानका कारण नेपाल प्रहरी संगठन मात्र नभई समग्रमा राष्ट्रकै गरिमामा बढोत्तरी हुनुका साथै प्रहरी र नागरिकबीचको सम्बन्ध समेत सुदृढ भएको उल्लेख गरे ।
प्रहरी संगठनमा अनुशासन, नेतृत्व क्षमता, सहयोगी र सामूहिक भावना, मेहनत र लगनशिलता अनिवार्य शर्तको रूपमा रहेको बताउँदै खेलकुदले सिकाउने यस्ता महत्वपूर्ण गुण र आचारणहरू आत्मसाथ गरी संगठनको बृहत्तर हित र संस्थागत विकासमा योगदान दिन उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले आग्रह गरे ।
प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी तथा फेयर प्ले टिमलाई पुरस्कार प्रदानगरे ।