HOLI HOLI

एपिएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

शनिबार, माघ १२, २०८१

काठमाडौँ :प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले हात पारेको छ ।

आज भएको फाइनलमा सूदुरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै एपिएफले सातौँ पटक उपाधि चुमेको हो । जितकालागि सूदुरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपिएफले १२.५ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो ।

एपिएफको जितमा ममता चौधरीले नटआउट ४३ रन जोडिन् । कप्तान इन्दु बर्मा १८ रनमा नटआउट रहिन् । राजमती ऐरीले ४ रन बनाइन् ।

त्यसअघि फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान धनगढीमा टस जितेर ब्याटिङ थालेको सूदुरपश्चिमले १८.१ ओभरमा सवै विकेट गुमाउँदै ६७ रन मात्र बनाउन सक्यो । उसकालागि मनिषा बोहराले १८ तथा कप्तान बिन्दु रावलले १७ रन बनाए पनि अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन छुन सकेनन् । कबिता कुवँर,चेताना कुवँर र रबिना साउद शुन्य रनमा आउट भए ।

सूदुरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा कबिता जोशीले सर्वाधिक ३ विकेट लिईन् । इन्दु वर्मा र सवनम राईले समान २ विकेट हात पार्दा करुणा भण्डारीको नाममा एक विकेट रह्यो । उपाधिसंगै एपिएफले नगद ५ लाख रुपैयाँ पाउँदा उपविजेतामा सिमित सूदुरपश्चिमले  ३ लाख रुपैयाँमा चित्त बुझायो ।

यही माघ १ गते शुरु भएको प्रतियोगितामा १२ टोलीले सहभागिता जनाएका थिए ।
 

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १४:१९
प्रतिक्रिया दिनुहोस्