ADD FOR WEBSIDE ADD FOR WEBSIDE

विश्वकपमा सन्दीप ईन, को हुनेछ आउट ?

बिहीबार, जेठ ३, २०८१

काठमाडौँ : बलात्कार मुद्धामा उच्च-अदालत पाटनबाट सफाई पाएसंगै पूर्व कप्तान सन्दीप लामिछाने नेपाली क्रिकेटमा फर्किएका छन् । सफाई पाएको केहि समय लगत्तै नेपाल क्रिकेट संघ क्यानले उनीमाथि लगाईएको निलम्बन समेत फुकुवा गरिदिएको छ ।

संघका अध्यक्ष चतुरबहादुर चन्दले बलात्कार मुद्धामा लामिछाने निर्दोष देखिएकाले घरेलु तथा सबै क्रिकेट गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी दिए । निलम्बन फुवुवा भएसँगै क्यानले सन्दीपलाई अमेरिका र वेष्टईण्डिजमा हुन लागेको विश्वकप खेल्न पठाउन लागेको छ ।  नेपालले यसअघि नै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय विश्वकपको टोली घोषणा गरिसकेको भएपनि अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको निययमअनुसार कुनै पनि टोलीले आगामी जेठ १२ गतेसम्म खेलाडीको नाम फेरबदल गर्न सक्छन् ।

विश्वकप जेठ २० गतेदेखि वेष्ट इन्डिज र अमेरिकामा संयुक्त रूपमा आयोजना हुँदै छ । नेपाललेपनि आफ्नो टोलीमा परिवर्तन गरेर सन्दीपलाई १५ औँ खेलाडी भित्र स्थान दिने तयारी छ । यस्तो अबस्थामा अब एक जनाले खेलाडीले सन्दीपका लागि राष्ट्रिय टोली छाड्नुपर्ने स्पष्ट छ । सन्दीप ईन हुँदा कुन खेलाडी आउट हुनुपर्ने हो त ? अहिले यो विषय चिया-चौतारीमा बहसका विषय बनेको छ ।

कतिपयले सन्दीपलाई तत्काल खेलाउन क्यानले हतार गर्न नहुने बताउँछन् । लामो समय प्रशिक्षण र खेलबाट टाढा रहेकाले नामकै आधारमा टोलीमा राख्दा झन समस्या देखिन सक्ने क्रिकेट पण्डितहरु बताउँछन् । विश्वकपका लागि सेट भईसकेको टोलीमा सन्दीप मिसिँदा असन्तुलन निम्तने हो की भन्ने चिन्ता पनि छ । उच्चले गरेको फैसलापछि एक अधिवक्ताले त सन्दीपले कप्तानी समेत फिर्ता पाउनुपर्ने बताए । पत्रकारहरुको जवाफ दिने क्रममा सन्दिप लामिछानेको मुद्दा जिल्लादेखि नै लड्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले बलात्कार आरोपकै कारण क्यानले उनको क्याप्टेन्सी खोसेकाले निर्दोष सावित भएपछि उनैले नेपालको कप्तानी गर्न पाउनुुपर्ने माग गरे । 
सन्दीपका लागि अनिल कुमार शाह,सन्दीप जोरा,कमल सिं ऐरी ,प्रतिस जीसी ,सागर ढकाल वा अविनाश बोहरा मध्ये एक जनाले राष्ट्रिय टोली छाड्नुपर्ने देखिन्छ । लामिछानेले नेपाली क्रिकेट टोलीबाट अन्तिम खेल गत नोभेम्वर २०२३ मा ओमानविरुद्ध खेलेका थिए ।  जुन खेलको नतिजा सुपर ओभरबाट भएको थियो । जसमा ओमान विजयी भयो ।

अहिले सबै टोली २०२४ को टी–२० विश्वकपको तयारीमा व्यस्त छन् । सन्दीपलाई जेल सजाय सुनाइएपछि उनलाई विश्वकप टोलीमा स्थान दिइएको थिएन । जिल्ला अदालत काठमाडौँले लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएपछि त्यसविरुद्ध लामिछाने र सरकारी वकिल दुवै पक्ष उच्च अदालत पुगेका थिए ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०८:१८
प्रतिक्रिया दिनुहोस्