SONAM WEAR SONAM WEAR

महिला प्रिमियर लिगमा बैंगलोरको विजयी सुरुवात

शनिबार, फागुन ३, २०८१

काठमाडौँ :महिला प्रिमियर लिग (डब्लुपिएल)मा डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ ।

गएराती भएको उद्घाटन खेलमा गुजरात जायन्ट्सलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । पहिलो खेलमा, गुजरातले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा २०१ रन बनाएको थियो । जवाफमा, बेंगलुरुले ९ बल बाँकी रहँदा ६ विकेटले खेल आफ्नो पक्षमा पारे ।  आरसीबीको जितमा एलिस पेरीले ५७ रन र रिचा घोषले अविजित ६४ रन बनाए ।

वडोदराको कोटाम्बी रंगशालामा खेलिएको  खेलमा आरसीबीकी कप्तान स्मृति मन्धानाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी थिइन् । गुजरात ब्याटिङ गर्दा स्कोरबोर्डमा २०१ रन राख्न सफल भयो । तर दोस्रो इनिङमा शीत परेका कारण बलिङ गर्न गाह्रो भयो । यद्यपि, आरसीबीले स्मृति मन्धाना (९ रन) र डेनियल व्याट (४ रन) को विकेट चाँडै गुमायो । तर एलिस पेरी र रिचा घोषले परिस्थितिको पूर्ण सदुपयोग गर्दै आरसीबीलाई जित दिलाईन् । 
आरसीबीले बनायो उत्कृष्ट रेकर्ड
आरसीबी महिला प्रिमियर लिगको इतिहासमा सबैभन्दा धेरै स्कोर पछ्याउने टोली बनेको छ । डब्लुपिएलको इतिहासमा २०० भन्दा बढी रनको स्कोर सफलतापूर्वक पछ्याउने आरसीबी पहिलो टोली पनि हो । यसअघि यो रेकर्ड मुम्बई इन्डियन्सको नाममा थियो । सन् २०२४ मा गुजरात जायन्ट्स विरुद्ध १९१ रनको लक्ष्य हासिल गरेको थियो । 
 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  ०९:०४
प्रतिक्रिया दिनुहोस्