HOLI HOLI

१२ बर्ष पछि भारतले जित्यो च्याम्पियन्स ट्रफी

२५ वर्ष पहिले ब्यहोरेको हारको बदला लियाे भारतले
आइतबार, फागुन २५, २०८१

काठमाडौँ :आइसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि भारतले जितेको छ ।

आईतवार राती सकिएको फाइनलमा न्यूजल्याण्डलाई चार विकेटले हराउँदै भारतले १२ बर्षपछि तेस्रो पटक च्याम्पियन्स ट्रफी उचालेको हो । जितकालागि न्यूजल्याण्डले दिएको २५२ रनको लक्ष्य भारतले एक ओभर बाँकी छदैँ ६ विकेट गुमाएर पूरा गर्यो ।

भारतको जितमा कप्तान रोहित शर्माले सर्वाधिक ७६ रनको योगदान गरे । श्रेयस अय्यरले ४८,कएल राहुलले ३४ तथा शुभमन गिलले ३१ रन बनाए । हार्दिक पाण्ड्याले १८ तथा रविन्द्र जडेजाले ९ रन बनाए । रोहित शर्माले आफ्नो कप्तानीमा भारतलाई ९ महिनामा दोस्रो आईसीसी उपाधि दिलाएका छन् । उनकै कप्तानीमा  गत वर्ष जुन २९ मा भारतले टी-२० विश्वकप पनि जितेको थियो ।

त्यसअघि युएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको न्यूजल्याण्डले निर्धारत ओभरमा ७ विकेटको क्षतिमा २५१ रन बनायो । उसकालागि ड्यारेल मिचेलले सर्वाधिक ६३ रनको योगदान गरे ।

माईकल ब्रेसवेलले नटआउट ५३ रन बनाउँदा रचीन रबिन्द्रले ३७ तथा ग्लेन फिलिप्सले ३४ रन बनाए । विल योङले १५,टम लाथिमले १४ रन जोडे । बलिङतर्फ वरूण चक्रवर्ती र कुलदीप यादवले समान २-२विकेट लिए । मोहम्मद सामी र रबिन्द्र जडेजाले एक-एक विकेट हात पारे ।

यो जितसँगै भारतले न्युजिल्याण्डसँग २५ वर्ष पहिले ब्यहोरेको हारको बदला समेत लिएको छ । यसअघि सन् २००० मा केन्याको नैरोबी मैदानमा भएको फाइनलमा न्युजिल्यान्डले भारतविरुद्ध ४ विकेटको जित निकालेको थियो । भारतले यसअघि सन् २०१३ मा इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो ।

सन् २०१७ मा भने भारत फाइनलमा पाकिस्तानसंग पराजित हुन पुग्दा उपाधि जित्न चुकेको थियो ।  

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  २२:१०
प्रतिक्रिया दिनुहोस्