SONAM WEAR SONAM WEAR

पुलिस अपराजित ,आर्मीको पहिलो हार

बुधबार, चैत ६, २०८१

काठमाडौँ :प्रधानमन्त्री कप एक दिवशीय क्रिकेटमा बिभागिय टोली पुलिसले अपराजित यात्रा कायमै राख्दा आर्मीले हारको पहिलो स्वाद चाखेको छ ।

आज भएको खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै पुलिसले लगातार छैटौँ जित निकालेको हो । गण्डकीले दिएको ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । पुलिसको जितमा कप्तान दिपेन्द्र सिं ऐरीले ५४ रन जोडे । अर्जुन साउदले १८ तथा दिलिप नाथले १० रन बनाए ।

त्यसअघि सिदार्थनगरमा टस जितेर पहिले ब्याटिङमा तानिएको गण्डकी २३.२ ओभर खेल्दै ९२ रनमा अलआउट भयो । उसकालागि अर्जुन कुमालले सर्वाधिक ४८ रन जोडे । गण्डकीलाई सस्तैमा समेट्ने क्रममा ललित राजवंशीले सर्वाधिक ५ विकेट लिए ।

अर्को बिभागिय टोली त्रिभुवन आर्मीले भने प्रतियोगितामा पहिलो हार ब्यहारेको छ । आज भएको खेलमा आर्मी मद्येश प्रदेशसंग ३ विकेटले पराजित भएको हो । जितकालागि आर्मीले दिएको २१८ रनको लक्ष्य मद्येशले ४८ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । मद्येशको जितमा कपतान अनिल शाहले सर्वाधिक ४५ रनको योगदान गरे । हरिशंकर शाह र पवन शर्राफले समान ३७ रन बनाउँदा शैलेन्द्र शाहले १५ रन जोडे ।

त्यसअघि दाङको देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको आर्मीले निर्धारित ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो । उसकालागि भिम सार्कीले ८९ रनको पारी खेलेपनि जितकालागि पर्याप्त हुन सकेन । सन्तोष कार्कीले ३३ तथा तिर्थराज दासले १४ रन जोडे । जितसंगै छैटौ स्थानको मद्येशले ६ अंक जोडेको छ । हारका बाबजुत आर्मी दोस्रो स्थानमा यथावत छ ।

तेस्रो स्थानमा रहेको लुम्बिनी प्रदेश,सुदूर पश्चिम प्रदेशसंग ५ विकेटले पराजित भएको छ । जितकालागि लुम्बिनीले दिएको ११७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमको जितमा किरण ठगुन्नाले सर्वाधिक ४३ रनको योगदान गरे । कप्तान नारायण जोशीले २५ तथा प्रकाश पाण्डेले २२ रन जोडे ।

 त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको लुम्बिनीले ४४.१ ओभरमा सवै विकेट गुमाउँदै ११६ रन बनाएको थियो । उसकालागि कप्तान देव खनालले सर्वाधिक ४१ तथा प्रज्वल थापाले ३० रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
 

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १८:३१
प्रतिक्रिया दिनुहोस्