सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :सूर्य तामाङले कसिलो बलिङ गरेपछि प्रधानमन्त्री कप एकदिवशीय क्रिकेटमा बागमती प्रदेशले कोशी प्रदेशविरुद्द सहज जित निकालेको छ ।
आज भएको खेलमा कोशी प्रदेशलाई १३१ रनको फराकिलो अन्तरले हराउँदै बागमतीले अंक तालिकामा सुधार गरेको हो । जितकालागि बागमतीले दिएको २४१ रनको लक्ष्य पछ्याएको कोशी १०९ रनमा अलआउट हुन पुग्यो ।
उसकालागि आशिष भट्टराइले सर्वाधिक ३७ तथा सुजन थपलियाले २५ तथा फिर्दोश अन्सारीले २४ रन बनाएपनि अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । कोशीलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ सूर्य तामाङले सर्वाधिक ५ विकेट लिए । रिजन ढकालले ३ तथा साकार गजुरेलले दुई विकेट लिए ।
त्यसअघि दाङको देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको बागमतीले ४९.३ ओभरमा सवै विकेट गुमाउँदै २४० रन बनाएको थियो । बागमतीकालागि शुभ कंसाकारले सर्वाधिक ३९ रनको योगदान गरे ।
आसुतोष घिरैयाले २९ रन बनाउँदा बिपिन आचार्य र इशान पाण्डेले समान २५–२५ रन जोडे । जितसंगै बागमती प्रतियोगिताको छैटौँ स्थानमा उक्लिएको छ ।
बागमतीले अहिले सम्म खेलेका ७ खेल मध्ये तीन खेलमा जित निकालेको छ भने ४ खेलमा पराजय भोगेको छ । समान खेल खेलेको कोशीले एक खेलमात्रै जितेको छ ।