ADD FOR WEBSIDE ADD FOR WEBSIDE

धादिङमा राष्ट्रपति रनिङ शिल्ड हुँदै

बिहीबार, वैशाख ११, २०८२

धादिङ : १४ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा सदरमुकाम धादिङबेशीमा हुन लागेको प्रतियोगिताको सवै तयारी पूरा भएको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले जानकारी दिए । प्रतियोगिता यहि बैशाख १३ गतेदेखि सुरु हुने भएको छ ।बागमती प्रदेश खेलकुद विकास परिषद्ले यहि बैशाख १५ गतेभित्र खेलाडी छनोट गरि पठाउन निर्देशन दिएसंगै आकस्मिक रूपमा १३ गतेबाट प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष तामाङले बताए ।

यस प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुलाई प्रदेश स्तरीय प्रतियोगितामा खेल्न जान ट्रयाक सुट र किट प्रदान गरिनेछ । गत वर्ष सम्पन्न भएको १३औं जिल्ला स्तरीय प्रतियोगिताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको थियो।

प्रतियोगिता यहि १५ गतेसम्म चल्नेछ । प्रतियोगितामा सहभागि हुन जिल्लाको १३ वटै पालिकालाई पत्राचार गरि सकिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रमेशमान तुलाधरले बताए ।

गंगाजमुना गाउँपालिका बाहेक सबै पालिकाले स्थानीय स्तरको रनिङ शिल्ड गरेको भएपनि शिक्षकहरूको आन्दोलनका कारण १३ गतेबाट हुने जिल्ला स्तरीयमा कति पालिका सहभागी हुन्छन् भन्ने यकिन नभएको उनको भनाई छ ।

यसअघि बैशाख ११ गतेबाट सुरु हुने भनिएको रनिङ शिल्ड कक्षा १२ को परिक्षालाई मध्यनजर गर्दै स्थगित भएको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  ०७:४७
प्रतिक्रिया दिनुहोस्