ADD FOR WEBSIDE ADD FOR WEBSIDE

प्रभु महालक्ष्मी दोस्रो कोप ओपन फिडे रेटिङ चेस हुने

शनिबार, वैशाख १३, २०८२

काठमाडौँ :संयुक्त राष्ट्रसंघले घोषणा गरेको ’अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५’ को अवसरलाई लक्षित गर्दै प्रभु महालक्ष्मी दोस्रो कोप ओपन फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगिता हुने भएको छ । राष्ट्रिय सहकारी महासंघले सो प्रतियोगिता बैशाख २५ र २६ गते ललितपुरमा आयोजना गर्न लागेको हो । 
यो प्रतियोगिताको मुख्य प्रायोजन प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले गरेको छ । प्रतियोगितामा प्राविधिक सहयोग नेपाल बुद्धिचाल महासंघले गरेको छ। यस अघि प्रतियोगिताको पहिलो संस्करण काठमाडौंका युवा खेलाडी सुदीप तामाङले उपाधि जितेका थिए । पहिलो संस्करणमा १११ जना खेलाडीको सहभागिता रहेको र यस पटक १५० बढी खेलाडी सहभागी हुने बताइएको छ  ।
 यस पटक प्रतियोगिताको पुरस्कार राशिमा उल्लेखनीय वृद्धि गरिएको छ । प्रतियोगिताका विजेताले नगद ४० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । साथसाथै विजेताले एक वर्षका लागि १० लाख रुपैयाँ बराबरको आवधिक जीवन बीमा सुविधा पनि प्राप्त गर्नेछन् ।
त्यस्तै, दोस्रो स्थान हासिल गर्ने खेलाडीले २५ हजार रुपैयाँ नगद पुरस्कार र ७ लाख रुपैयाँ बराबरको आवधिक बीमा प्राप्त गर्ने छन्। तेस्रो हुनेले १५ हजार रुपैयाँ नगद र ५ लाख रुपैयाँको एक वर्ष अवधिको बीमा पाउनेछन् ।


प्रतियोगितामा उत्कृष्ट १०औं स्थान सम्मका खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ । विधागत तर्फ उत्कृष्ट तिन जना महिला खेलाडीले समेत नगर पुरस्कार प्राप्त गर्ने छन् । जसमा पहिलो हुनेले ७ हजार, दोस्रोले ६ हजार र तेस्रो हुने महिलाले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी, उत्कृष्ट भेट्रान (वरिष्ठ खेलाडी), उत्कृष्ट नव प्रवेशी अनरेटेड, उत्कृष्ट युवा–१६ (१६ वर्षमुनी), युवा–१८ (१८ वर्षमुनी) खेलाडीहरू,  उत्कृष्ट सहकारी खेलाडी, उत्कृष्ट विमा खेलाडी लगायतलाई नगद पुरस्कार प्रदान गरिनेछ ।
चेस प्रतिस्पर्धाका प्रमुख निर्णायक एफए सोराज ताम्राकारका अनुसार नौ चरणको स्पर्धा १५ मिनेट १० सेकेण्ड इन्क्रिजमेण्ट समय रहनेछ भने दुई दिन चल्नेछ। 
राष्ट्रिय सहकारी महासंघले खेल मार्फत सहकारी आन्दोलनको महत्व र सहकार्यको भावना प्रवद्र्धन गर्न बुद्धिचाल जस्तो बौद्धिक खेलको माध्यमवाट योगदान पुर्याउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको जनाएको छ । 

आयोजकले प्रतियोगितामा सबै उमेर समूहका खेलाडीहरूको उत्साहजनक सहभागिता हुने अपेक्षा गरेको छ ।

pp-1745664743.jpg


 

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्