वागमतीलाई हराउँदै एपिएफ एमएम कपको शिर्षमा 

आइतबार, वैशाख १४, २०८२

विराटनगर:  शसस्त्र प्रहरीको एपिएफ विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ ।

आज भएको खेलमा वागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपिएफ शिर्ष स्थानमा उक्लिएको हो । ८१ रनको झिनो लक्ष्य एपिएफले ९ दशमलव ४ बलमा ८ विकेटको क्षतिमा भेट्टायो । एफिएपको जितमा दिपक बोहराले ३५ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै अविजित ४८ रनको योगदान दिँदा सुमित महर्जनले अविजित १८ रनको योगदान दिए । वागमतीका असिम श्रेष्ठले २ विकेट लिए ।

त्यसअघि विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा  टस हारेर ब्याटिङ गरेको वागमतीले निर्धारित ५० ओभरको खेलमा १९ दशमलव ३ बलमा सवै विकेट गुमाई ८० रन मात्रै बनाउन सक्यो । वागमतीका कप्तान रित गौतमले ३१ रन बनाउँदा विवेक राना मगरले १३ रन र उत्तम थापा मगरले १० रन जोडे । एपिएफका प्लेयर अफ म्याच प्रकाश जैशीले ४ विकेट लिँदा हविशेष गौतमले ३ विकेट र भोजराज  भट्टले २ विकेट लिए ।

पहिलो खेलमा एपिएफ आर्मीसँग पराजित भएको थियो । एपिएफले खेलेका २ खेलमा १ मा जित र १ खेलमा पराजित हुँदै २ अंककासाथ शिर्ष स्थानमा रहेको छ । आर्मीले १ खेलमा जित हात पार्दै दोस्रो स्थानमा रहेको छ भने वागमतीले पहिलो खेलमा पराजित हुँदै अंक विहिन रहेको छ । प्रतियोगिता अन्तर्गत भोली सोमबार समुह 'ए' को अन्तिम लिग खेल आर्मी र वागमती विच हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १४:१०
प्रतिक्रिया दिनुहोस्