ADD FOR WEBSIDE ADD FOR WEBSIDE

कबड्डी प्रतियोगितामा सहभागी हुन नेपाली टोली ढाका प्रस्थान

बिहीबार, जेठ १०, २०८१


काठमाडौँः चौथो बङ्गबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन नेपाली टोली बिहीबार बंगलादेश प्रस्थान गरेको छ । 
घनश्याम रोक्का मगरको कप्तानीमा १२ खेलाडीसहित १६ सदस्यीय नेपाली टोली ढाका प्रस्थान गरेको हो ।
सहभागी खेलाडीहरुमा कप्तान मगरसहित, गणेश कार्की, मनोज भट्ट कपाडी, जितेन्द्र अवस्थी, सागर यादव, इसरात मियाँ, कमलेश लोनिया, प्रकाश गिरी, खगेन्द्र जोशी, सुशील चुनारा, रोहन श्रेष्ठ र विशाल थापा रहेका अखिल नेपाल कबड्डी संघले जनाएको छ ।
टोलीका कप्तान घनश्याम भारतको प्रो कबड्डी लिग खेलिसकेका खेलाडी हुन् । उनी १०औँ संस्करणमा हरियाणा स्लिर्समा १३ लाख भारतीय रुपैयाँमा अनुबन्ध भएका थिए । घनश्यामले १०औँ संस्करणमा चार टिमविरुद्ध खेल्ने अवसर पाएका थिए । उनले तेलगु टाइटन्स, गुजरात जाइन्ट्स, यु मुम्बा र बैङ्गलारु बुल्सविरुद्ध खेलेका थिए । घनश्याम प्रो कबड्डी लिगमा आबद्ध हुने नेपाली खेलाडीमध्ये सर्वाधिक पारिश्रमिक लिने खेलाडी हुन् ।

विष्णुदत्त भट्ट प्रशिक्षक, महेश चन्द व्यवस्थापक तथा तर्कराज भट्ट र रमेशचन्द्र ओझा अफिसियलको भूमिका टिमसँगै बङ्गलादेश गएका छन् । त्यसअघि नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले कार्यक्रमका बीच सफलताको शुभकामना दिँदै बिदाइ गरेका थिए ।

kabaddi-1-1716456971.jpg

यही मे २६ देखि जुन ३ तारिख (जेठ १३ गतेदेखि २१) सम्म हुने प्रतियोगितामा विभिन्न १२ राष्ट्रको सहभागिता रहने सङ्घले जनाएको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी ‘लिग कम नकआउट’ आधारमा खेल खेलाइने छ । समूह ‘ए’ मा नेपालसहित बङ्गलादेश, श्रीलङ्का, इराक, मलेसिया र इण्डोनेसिया रहेका छन् भने ‘बी’ मा थाइल्याण्ड, जापान, पाकिस्तान, दक्षिण कोरिया, केन्या र पोल्याण्ड छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १५:२२
प्रतिक्रिया दिनुहोस्