HOLI HOLI

च्यासल मैदान निर्माणमा अनियमितता ,५४ लाख असुली गर्न निर्देशन

सोमबार, जेठ १४, २०८१

काठमाडौं :च्यासल खेल मैदान निर्माणमा काम भन्दा बढी भुक्तानी गरेको पाइएको छ । महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदनले उक्त खेल मैदान निर्माणको क्रममा ५४ लाख भन्दा बढी भुक्तानी गरेको औंल्याएको छ । जसअनुसार च्यासलस्थित एन्फा फुटबल मैदान भवन तथा प्यारापिट निर्माण गर्दा ५४ लाख ७७ हजार रुपैंया बढी भुक्तानी दिइएको हो ।


निर्माण सम्पन्न गर्न २०७७ जेठ २१ गतेभित्र सम्पन्न गर्ने गरी ०७४ साल असार २२ गते ३३ करोड ५० लाख ९४ हजार रुपैंयाको सम्झौता भएको थियो । पाँचौं पटकसम्म म्याद थप गरी ०७९ भदौ ५ गते निर्माणकार्य सम्पन्न भएको देखिएको महालेखा परीक्षकको कार्यालयले बताएको छ । 
निर्माण कार्यको पाँचौं पटकसम्म भेरियसन गरी ३१ करोड १० लाख ५५ हजार रुपैंयाको सम्पन्न गरेकोमा ३१ करोड ६५ लाख ३२ हजार भुक्तानी दिएको देखिएकोले बढी भुक्तानी भएको ५४ लाख ७७ हजार रुपैंया असुल उपर हुनुपर्ने महालेखाको सुझाव छ ।


राष्ट्रिय खेलकुद परिषद् (राखेप) को लगानीमा डाँफे, प्रेरा र प्रतिष्ठा जेभिले संयुक्त रुपमा उक्त आयोजना सम्पन्न गरेको थियो । उक्त मैदान निर्माण सम्पन्न भएपछि घरेलु प्रतियोगिताको लागि एन्फा कम्प्लेक्स र दशरथ रंगशालाको मात्रै भर पर्नुपर्ने बाध्यता हटेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  २२:०६
प्रतिक्रिया दिनुहोस्