ADD FOR WEBSIDE ADD FOR WEBSIDE

असफलतामा नआत्तिएका रेवत ,२७ वर्ष देखि दौडदै

दौडिएर मात्रै जीवन चलाउन सम्भव छैन
मंगलबार, जेठ १५, २०८१

काठमाडौँ :धावक रेवत दाहाल गत २७ वर्षदेखि निरन्तर सक्रिय खेल जीवन बाँचिरहेका छन् । 
केही असफलताका बावजुद प्राप्त भएको सफलताले उनलाई खेल जीवनमा सक्रिय रहन उत्प्रेरित गरिरहन्छ ।
बालापनदेखि नै खेल प्रतियोगिताहरुमा सहभागी हुने/जित्ने चाहना भएपनि उनले अवसर भने नेपाली सेनामा भर्ती भएपछि पाए । 
हाल उनी नेपाली सेनाको सेवाबाट अवकाश लिइसकेका छन् । यद्यपी, उनको खेल क्षेत्रप्रतिको मोह कम भइसकेको छैन । 
नेपाली सेनाको सेवाबाट अवकाश प्राप्त भइसकेपछि सेवामा हुँदा पसेको म्याराथनको चस्कोले उनलाई छाडेको छैन । 
उनी भन्छन्, “सेनाबाट अवकाश लिइसकेपछि उमेर समुहबाट विभिन्न ५० भन्दा बढी म्याराथन प्रतियोगितामा सहभागी भइसकेको छु ।” उनले २०६८ जेठमा नेपाली सेनाको सेवाबाट अवकाश पाएका हुन् ।
सन् २०२० देखि उमेर समुहबाट म्याराथनमा सहभागी भइ हालसम्म दौडलाई निरन्तरता दिँदै राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक उनले हासिल गरेका छन् ।
२०३० साल असार १५ गते धादिङ जिल्लाको साविक साङ्कोष गाविस वडा नम्बर २ (हाल निलकण्ठ नगरपालिका १२ ) मा जन्मिएका उनको खेल जीवनमा प्रवेश भने नेपाली सेनाको जागिरमा भर्ती लिएपछि भयो । स्कुले जीवनमा उनलाई खेल खेल्ने चाहना भएपनि अवसर पाएनन् ।

Sports-Hub---Rewat---6-1716873414.jpg

२०५१ सालमा नेपाली सेनाको जागिरमा लागेका दाहालले शुरुमा बास्केट बल खेले । त्यसक्रममा उनको दौडमा प्रदर्शन राम्रो भएपछि उनी २०५३ सालमा म्याराथन तर्फ प्रवेश गरे । उनी आर्मी म्याराथनबाट २०५५ सालमा राष्ट्रिय टोलीमा छनौट हुन सफल बने र उनले चौथो राष्ट्रिय सहभागिता नेपालगञ्जमा जनाए ।

Sports-Hub---Rewat---10-1716873761.jpg

सुरुवाती चार वर्ष उनी विभिन्न प्रतियोगितामा भाग लिए पनि सफल हुन सकेनन् । यद्यपी उनी असफलताबाट विचलित भएनन् र निरन्तर अभ्यास जारी नै राखे । त्यसपछि मिलेको सफलताले उनलाई हालसम्म निरन्तर दौडिरहन उत्साह दिएको छ ।
“असफलता नै सफल हुने उपाय हो । शुरुवाती चार वर्षसम्म मेरो प्रस्तुती राम्रो नै भएन। त्यसबेला म हतोत्साहित भइसकेको थिएँ। तर, दौडिन भने छाडिनँ।”, उनी भन्छन्, “ ५७ सालमा चाँही अन्तराष्ट्रिय प्रतियोगितामा खेल्दा सफलता मिल्यो। राम्रो पुरस्कार पनि पाँए, त्यसपछि खेललाई निरन्तरता दिन थप उत्साहित बनेँ।”
२०५७ सालमा सिंगापुरमा भएको अन्तर्राष्ट्रिय म्याराथनमा नवौं स्थान हासिल गर्न सफल भएपछि उनी खेल क्षेत्रमा सफलताको पाइला बढाउन थप हौसिएका थिए । उनले आफ्नो खेल जीवनमा थुपै्र प्रतियोगितामा सहभागिता जनाए । अधिकांश प्रतियोगितामा उनी पुरस्कृत हुन सफल भए ।  खेल जीवनमा विभिन्न उतार चढाव आएको सुनाउँदै उनले भने, “जागिर छाडेपछि ६ वर्षजति खेलबाट टाढा बसेँ, पछि उमेर समुहबाट फेरी दौडमा सहभागी हुन थालेँ। त्यस्तै हो। नो पेन नो गेन भन्छ नि, विथ आउट पेन त हुँदै हुँदैन। संघर्ष त गर्नैपर्छ ।”

Sports-Hub---Rewat---7-1716873468.jpg

नेपालको खेल क्षेत्रमा प्राविधिक पक्षहरु त्यति बलियो नभएको गुनासो उनले गरेका छन् । त्यसका लागि सरकारी निकायबाट पहल नभएको उनले अनुभव सुनाए ।
खेल जीवनमा आएदेखि सबैभन्दा अविस्मरणीय पल उनलाई हङ्कङमा सन् २००८ मा पहिलो हुँदाको समय लाग्छ ।
“सवभन्दा पहिलो २००८ मा हङकङमा हामीले सय किलोमिटर कुदेर रेकर्ड बनाएको थियौं। किनभने त्यतिबेला हामीले रेकर्ड गर्छौँ भनेर सोँचेका थिएनौँ तर रेकर्ड बनायौँ। त्यो क्षणले मलाई असाध्यै खुसी लाग्छ, बिर्सन सक्दिनँ।”, उनी भन्छन्, “६४ सालमा दौडिएरै एनआरएन बाट १० हजार डलर रकम पुरस्कार पाएको थिँए । त्यो रकम त्यतिबेलाको सबैभन्दा ठूलो प्राइज थियो ।”

Sports-Hub---Rewat---8-1716873514.jpg

खेल खेलेरै मात्रै जीवन धान्न सकिने आर्थिक पक्ष भने सबल नहुने उनी बताउँछन् । उनको अनुभवनमा सामान्य परिवारको मान्छेले खेल खेलेरै मात्र जीवन धान्ने कुरा नेपालमा सम्भब छैन ।
“अहिले लङ डिस्ट्यान्स अलि व्यवसायिक बन्दै गएको छ । अलि राहत छ । हाम्रो पालामा यस्तो थिएन। एउटा गेम खेल्नलाई एक वर्ष, डेढ वर्ष कुर्न पथ्र्यो ।” उनले भने, “अहिले दिनहुँजसो म्याराथन प्रतियोगिता भइरहेका हुन्छन् । एउटामा एउटाले अर्कोमा अर्कोले जित्दा खेलाडीलाई केही राहत पुगेको छ। तर, त्यतिले मात्रै चाँही पुग्दैन ।”

Sports-Hub---Rewat---3-1716873599.jpg

खेलाडीको लक्ष्य भनेको ओलम्पिक, सार्क, एसियन गेम्स, विश्वमा हुने म्याराथनमा भाग लिने हुन्छ । तर, त्यहाँसम्म पुग्ने वातावरण सरकारी निकाय तथा संघका पदाधिकारीहरुले बनाउँदैनन् ।

त्यसो त पदाधिकारी नियुक्तिमा राजनीतिक हस्तक्षेप हुनु नै प्रमुख कारण रहेको खेल क्षेत्रमा सर्वत्र चर्चाकाे विषय बनेकाे छ । राजनीतिक भागबण्डामा खेल पदाधिकारीको कोटा छुट्याईने परिपाटीले खेल क्षेत्रले उल्लेख्य फड्को मार्न सकेको छैन । यस  विषयमा सबै खेल प्रेमीको गुनासो छ । 

राजनीतिक भागबण्डामा खेल पदाधिकारीको कोटा छुट्याईने परिपाटीले खेल क्षेत्रले उल्लेख्य फड्को मार्न सकेको छैन । 


“निरन्तर खेलमा लाग्न चाहने, क्षमता भएका खेलाडीलाई प्रोत्साहन गर्न सरकार नै लाग्नुपर्छ । खेलाडीको प्रतिष्पर्धा, छनौटका लागि नीति नै बनाउनपर्छ ” उनी भन्छन् ।  
खेलाडीहरुले आफ्नो अभ्यासका लागि मैदानको कमी खड्किने उनी सुनाउँछन् । उनले काठमाडौँका प्रत्येक वडामा कम्तीमा १ सय मिटर लामो खेल मैदान भएमा खेलाडीहरुले अभ्यासका लागि प्रशस्त मैदान पाउने बताएका छन् । स्थानीय स्तरमापनि राम्रो खेलाडी उत्पादनका लागि र खेलप्रेमीहरुको लागि भौतिक संरचना बनाउन आवश्यक छ ।
खेल जीवनको हालसम्म आइपुग्दा धावक दाहालसँग एक सय भन्दा बढी मेडल र करिब २०० भन्दा प्रमाणपत्र/कदरपत्र कमाउन सफल भएका छन् । आफ्नो जीवनलाई यसैले सार्थकता दिलाएको उनको बुझाई छ ।

उनी सहभागी भएका केही प्रतियोगिता र हासिल गरेका स्थानहरु :
- सिंगापुर म्याराथन सन् २००२ :१८ औं
-पोखरा म्याराथन २००२ : दोस्रो
-वल्र्ड हाफ म्याराथन २००२ मे ५ :१०० औं
-डब्बली सर्किट म्याराथन २००५ सेप्टेम्बर १७ : दोस्रो
-३५ औं राष्ट्रिय म्याराथन २००६ जनवरी २१: दोस्रो
-पाँचौँ पोखरा म्याराथन २००६ फेब्रुअरी १८ :पहिलो
-हिल च्यालेञ्ज नगरकोट हाफ म्याराथन २००६ जुन १०ः ६ औं
-ट्रेलवर्क १०० किमि हङकङ २००६: पहिलो 
-अन्तराष्ट्रिय म्याराथन २००७ : पहिलो 
-सिंगापुर म्याराथन २००७ डिसेम्बर २ :२१ औं 
-अक्सफाम ट्रेलवाकर हङकङ २००८ : पहिलो 
-चौथो अन्नपुर्ण ७१ किमी २०१० मार्च २७ : चौथो
-नवौं पोखरा म्याराथन २०१० अक्टोबर ११ : तेस्रो ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्