ADD FOR WEBSIDE ADD FOR WEBSIDE

रोनाल्डोको ६५औँ ह्याट्रिकमा अल-नासरको शानदार जित

बुधबार, चैत २१, २०८०

काठमाडौं :पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ६५औं ह्याट्रिक गरेपछि साउदी प्रो लिगमा अल–नासारले आभालाई ८–० ले पराजित गरेको छ। 

साउदी अरबको प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्पोर्ट्स सिटीमा रोनाल्डोले खेलको सुरुवाती २० मिनेटभित्रै दुई वटा फ्रि किकलाई गोलमा परिणत गरेका थिए। ३३औं मिनेटमा लिभरपुलका पूर्वफरवार्ड र सेनेगलका साडियो मानेले रोनाल्डोकै पासमा गोल गरे।

पाँच पटकको बालोन डीओर विजेता रोनाल्डोले ४२औं मिनेटमा ह्याट्रिक पूरा गरे। ३९ वर्षीय रोनाल्डोले साउदी प्रो लिगमा यस सिजन २९ गोल गरेका छन्। उनी गोल्डेन बुट दौडमा शीर्ष स्थानमा छन्।

४४औं मिनेटमा साउदी मिडफिल्डर अब्दुलमाजिदले गोल गरेपछि अल–नासारले पहिलो हाफमा ५–० को अग्रता बनायो। अब्दुलरहमान घारिबले टिमका लागि छैटौं गोल गरे। त्यसपछि अब्दुलअजिज अल–अलिवाले ६३औं र ८६औं मिनेटमा गोल गरेपछि अल–नासारले ८–० को जित दर्ता गर्‍यो।

जितसँगै अल–नासरले २६ खेलमा ६२ अंक जोडेको छ। ऊ तालिकाको दोस्रो स्थानमा छ। लिग लिडर अल–हिलालको समान खेलमा अल–नासरको भन्दा १२ अंक बढी छ। रेलिगेसन जोनमा रहेको आभा २२ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्