ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० बिश्वकप :

नामिवियाले सुपर ओभरमा ओमानलाई हरायो

सोमबार, जेठ २१, २०८१

एजेन्सी :सुपर ओभरमा ओमानलाई स्तब्ध पार्दै नामिवियाले आईसीसी टी–२० बिश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । सुपर ओभरमा नामिबियाले दिएको २२ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित १ ओभरमा १ विकेटको क्षतिमा १० रन मात्र जोड्न सक्यो ।नामिबियाका लागि सुपर ओभरमा डेभिड विज नायक बने  । विजले ब्याटिङ र बलिङमा चमत्कारपूर्ण प्रदर्शन गर्दा नामिविया विजयी बनेको हो ।  

सुपर ओभरमा पहिले ब्याटिङ गरेको नामिबियाले २१ रन जोडेको थियो । टोलीका लागि डेभिड विजले सर्वाधिक १३ रन जोडे । पहिलो दुई बलमा एक चौका र एक छक्का प्रहार गर्दै १० रन जोडेका उनले तेस्रो बलमा २ तथा चौथो बलमा १ रन जोडेका थिए । त्यसपछि स्ट्राइकमा आएका कप्तान गेर्हार्ड इरास्मसले २ बलमा २ चौका प्रहार गर्दै ब्यक्तिगत ८ रन बनाएपछि २१ रन बनेको थियो । सुपर ओभरमा लक्ष्य पछ्याउने क्रममा ओमानविरुद्ध बलिङ गर्दै डेभिड विजले १० रन खर्चेर  १ विकेट लिए  ।

विजको पहिलो बलमा ओमानका नसिम खुशीले २ रन लिएएपनि त्यसपछिको बलमा रन जोड्न सकेनन् । तेस्रो बलमा नसिम बोल्ड हुन पुगेका थिए । त्यसपछि दोस्रो नम्बरमा ब्याटिङमा आएका आकिबले अर्को दुई बलमा १–१ रन बनाए ।

अन्तिम बलमा छक्का प्रहार गरेपछि ओमानले १ ओेभरमा १ विकेटको क्षतिमा १० रन मात्र जोड्न सक्यो ।

सुपर ओभरअघि जितकालागि ओमानले दिएको  ११० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

निकै प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले समान अंक भएपछि खेल नतिजा सुपर ओभरबाट गरिएको हो । नामिवियाका जेन फ्रालिङले सर्बाधिक ४५ रनको योगदान गरे ।

निकोलास डेभिनले २४ तथा कप्तान गेर्हार्ड इरास्मसले १३ रन जाडे । त्यसअघि केन्सिङ्टन ओवल, ब्रिजटाउन, बार्बाडोसमा टस हारेर पहिले ब्याटिङमा तानिएको ओमानले १९ दशमलब ४ ओभरमा सवै विकेट गुमाउँदै १०९ मात्र बनाउन सक्यो ।उसकालागि खालिद कैलले सर्वाधिक ३४ रनको योगदान गरे ।

जिसन मक्सुदले २२ ,आयान खानले १५ तथा शकील अहमदले ११ रन जोडेपनि अन्य ब्याटरले दोहोरो अंकको रन छुन सकेनन् । कप्तान अकिब इलियास र कैश्यप प्रजापतिले खाता नै खोल्न सकेनन् ।

ओमानलाई सस्तैमा समेट्ने क्रममा रुबेन ट्रम्पलम्यानले सर्वाधिक ४ विकेट लिँदै ह्याट्रिक पुरा गरे । डेभिड विजले ३ तथा गेर्हार्ड इरास्मसले २ विकेट हात पारे । 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १०:०३
प्रतिक्रिया दिनुहोस्