ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप

नेपाल नेदरल्याण्डसंग ६ विकेटले पराजित

ब्याटिङमा फ्लप ,फिल्डिङ झुर
बुधबार, जेठ २३, २०८१

काठमाडौँ : आइसीसी टि–२० विश्वकप क्रिकेटमा नेपाल नेदरल्याण्डसंग पराजित भएको छ । मंगलवार राती भएको खेलमा नेदरल्याण्डसंग नेपाल ६ विकेटले पराजित भएको हो । जितका लागि नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले ८ बल बाँकी छँदै ४ विकेट गुमाएर पुरा गर्यो ।

नेदरल्याण्ड्सको जितमा म्याक्स ओडाउडले अर्धसकिय पारी खेल्दै ५४ रनमा अविजित रहे ।  ४८ बलको सामना गरेका उनले ४ चौका र एक छक्का प्रहार गरे । प्रतियोगितामा उनले प्रहार गरेको एक मात्र छक्का थियो ।

विक्रम सिंले २२ रन जोडे । नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्सले ३ रनमा पहिलो विकेट गुमाएको थियो । माइकल लेभिट मात्र एक रन बनाएर आउट भएका थिए । त्यसपछि म्याक्स ओडाउड र विक्रमजीत सिंहले ४० रनको साझेदारी गर्दै खस्किएको ईनिङ उकासे । पावरप्लेको अन्त्यसम्ममा नेदरल्याण्ड्सले एक विकेट गुमाएर ३६ रन बनाएको थियो । तर ९ औं ओभरमा विक्रमजीत २२ रन बनाएर आउट भएपछि डच टोली निकै दबाबमा पुग्यो ।

रन रेट निकै सुस्त भएको कारण नेदरल्याण्डले १० ओभरमा ५२ रन मात्र बनाउन सकेको थियो । ब्याटिङमा फ्लप देखिएको नेपाली टोलीको फिल्डिङ पनि निकै झुर देखियो । सोमपाल कामी र रोहित पौडेलले महत्वपूर्ण क्याच छोड्न पुग्दा डच टोली जित उन्मुख भयो ।

त्यसअघि अमेरिकाको ड्यालस स्थित ग्रान्ड प्रेरी रङ्गशालामा टस हारेर पहिले ब्याटिङमा तानिएको नेपालले १९.२ ओभरमा सवै किवेट गुमाउँदै १०६ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रनको योगदान गरे । करण केसीले १७,गुल्शन झाले १४ तथा अनिल शाहले ११ रन बनाएपनि अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

ओपनर कुशल भुर्तेल र आशिफ शेख पनि सस्तैमा समेटिए । भुर्तेल ब्यक्तिगत ७ रनमा आउट हुँदा शेख ४ रनमा पवेलियन फर्किए । कुशल मल्लले ९ रनको योगदान गर्दा भरपर्दा ब्याट्सम्यान दिपेन्द्र सिं ऐरी १ रनमा आउट हुन पुगे । सोमपाल कामी,अविनाश बोहरा र सागर ढकालले खाता नै खोल्न सकेनन् । 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ०१:११
प्रतिक्रिया दिनुहोस्