ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप :

अफगानिस्तानसंग घुँडा टेक्यो न्यूजल्याण्डले 

शनिबार, जेठ २६, २०८१

एजेन्सी : आइसिसी टि–२० विश्वकप क्रिकेटमा न्यूजल्याण्डले लज्जास्पद हार ब्यहोरेको छ । शनिवार बिहान भएको पहिलो खेलमा न्यूजल्याण्ड अफगानिस्तानसंग ८४ रनले पराजित भएको हो ।

जितकालागि १६० रनको लक्ष्य पछ्याएको न्यूजल्याण्ड १५.२ ओभरमा सवै विकेट गुमाउँदै ७५ रनमा समेटियो । न्यूजल्याण्डकालागि ग्लेन फिलिप्सले १८ तथा म्याट हेनरीले १२ रन बनाएपनि अन्य ब्याटरले दोहोरो अंकको रन छुन सकेनन् ।

न्यूजल्याण्डलाई सस्तैमा समेट्ने क्रममा राशिद खान र फजलहक फारुकीले सर्वाधिक ४/४ विकेट लिए । मोहम्मद नाबीले दुई विकेट हात पारे ।

त्यसअघि प्रोभिडेन्स स्टेडियम, गुयानामा टस हारेर पहिले ब्याटिङमा तानिएको अफगानिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनायो ।अफगानिस्तानकालागि रहमान–उल्लाह गुरबाजले अर्धसतकिय पारी खेल्दै सर्वाधिक ८० रनको योगदान गरे । ५६ बलको सामना गरेका उनले ५ चौका र ६ छक्का प्रहार गरे । इब्राहिम जाद्रानले ४४ रन जोडे । पहिलो विकेटकालागि यी दुई जोडीले १०३ रनको सतकिय साझेदारी गरेका थिए । अजमातुल्लाह उमरजाईले २२ रन जोडे । कप्तान राशिद खान ६ रनमा–रन आउट हुँदा मोहमद नावी र गुलबदिन नायब शुन्य रनमा पवेलियन फर्किए ।

बलिङतर्फ म्याट हेनरी र ट्रेन्ट बोल्टले दुई÷दुई  विकेट लिदा लकी फर्ग्युसनले एक विकेट हात पारे । पहिलो खेलमा युगान्डालाई १२५ रनले हराएको अफगानिस्तानले न्यूजल्याण्डलाई हराउँदै लगातार दोस्रो जित निकालेको छ । जितसंगै समुह सी को शिर्ष स्थानमा रहेको अफगानिस्तानले ४ अंक जाड्दै सुपर ८ को सम्भावना बलियो बनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  ०८:३२
प्रतिक्रिया दिनुहोस्