ADD FOR WEBSIDE ADD FOR WEBSIDE
जबरजस्ती करणी मुद्धा :

सन्दीपको बिश्वकप खेल्ने सपना टुङ्गियो

मुद्धाको सुनुवाई गर्न न्यायधीशहरुकै आलटाल 
मंगलबार, वैशाख १८, २०८१

काठमाण्डौँ । क्रिकेटर सन्दिप लामिछानेको टी – ट्वान्टी विश्वकप खेल्ने सपना टुङ्गिएको छ । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका उनको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाईको टुंगो नलाग्दा लामिछानेको विश्वकप खेल्ने सम्भवना सकिएको हो ।

जिल्ला अदालतले उनलाई बलात्कार मुद्दामा ८ वर्ष कैद तथा जरिवाना र क्षतिपुर्ति गरी ५ लाख रुपैंयाको फैसला गरेको थियो । सो विरुद्ध उनी पुनरावेदन निवेदन लिएर उच्च अदालत पाटन पुगेका छन्। उच्च अदालत पाटनमा पनि न्यायधीशहरु सन्दीपको मुद्दाबाट पन्छिन खोजेपछि सुनुवाई निरन्तर धकेलिँदै आएको छ ।

यही वैशाख १० र १६ गते पेशी चढेपनि न्यायधीशहरुले सुनुवाई सुरु नगर्दा क्रिकेटर लामिछानेको विश्वकप खेल्ने सपनाामा धक्का लागेको हो । आगामी जुनबाट वेष्ट इण्डिज र अमेरीकामा शुरु हुने  टी ट्वान्टी विश्वकप खेल्ने टोलीको नामावली नेपाल क्रिकेट संघ क्यानले मे १ तारेख अर्थात् यही वैशाख १९ गतेसम्ममा अन्तराष्ट्रिय क्रिकेट परिषद् आसीसीलाई पठाइसक्नुपर्नेछ । तर, सन्दीपको मुद्दा भने उच्च अदालतमा यथावत नै छ ।

यसअघि क्यानले सन्दीपको विश्वकप खेल्ने सम्भावनालाई मध्यनजर गर्दै विश्वकप खेल्ने नेपाली टोलीको नयाँ जर्सी सार्वजनिक गर्दा सन्दीपको समेत जर्सी सार्वजनिक भएको थियो । तर, यही १६ गते पेशी चढेको उच्च अदालत पाटनका न्यायधीशद्धय धीर बहादुर चन्द र चन्द्रमणी ज्ञवालीले सुनुवाई गर्न आलटाल गरेपछि उनको पुनरावेदनको अर्को सुनुवाई यही वैशाख २३ गतेको लागि तोकिएको छ । 


जिल्ला अदालत काटमाडौंमा पनि उनको मुद्दा सुनुवाईको लागि न्यायधीशहरुले आलटाल गरेपछि सुनुवाई लम्बिएको थियो भने उच्च अदालत पाटनको पनि उही पारा देखिएको छ । न्यायधीशद्धय चन्द र ज्ञवालीको इजलासको छैटौं नम्बरमा परेको सन्दीपको पुनरावेदनमा सुनुवाइको पालो आएपनि बहस गर्ने कानून व्यवसायीको संख्या र बहस गर्न लाग्ने समयलाई देखाउँदै इजलासले सुनुवाई धकेलेको छ । इजलासमै एक न्यायधीशले सुनुवाई नसकिँदा हेर्दाहेर्दमा राख्नुपर्ने र सन्दीपको मुद्दा हेर्दाहेर्दामा राख्दा प्रभावित हुनसक्ने जिकिर गरेका थिए ।

 
सुनुवाई गर्ने न्यायधीशलाई प्रभाव पर्न सक्ने तर्कका साथ इजलासले बहसको समय अभाव देखाएर सन्दीपको पुनरावेदनमाथि सुनुवाई पन्छाउँदै पेशी पछाडी धकेल्दा सन्दीपले विश्वकप खेल्ने मौका गुमाएका हुन् । 
सन्दीप पीडित गौशाला २६ लाई जवरजस्ती करणी कसुरमा दोषी ठहरिएका छन् । सोही विरुद्ध उनी पुनरावेदन लिएर उच्च अदालत पाटन पुगेका हुन् भने सरकारी वकिलपनि सन्दीपलाई नाबालिक बलात्कारको कसुरमा थप सजाय हुनुपर्ने माग राखेर उच्च अदालत पाटन पुगेको छ । 


सन्दीप र सरकारी वकिलको पुनरावेदन सँगै राखेर सुनुवाईका लागि पेशी तोकिँदै आएको छ । यसअघि उच्च अदालत पाटनका न्यायधीशद्धय मुनेन्द्र प्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले पीडित गौशाला २६ को जन्म दर्ताको प्रमाणपत्र र उनले सो प्रमाणपत्र पाउन पेश गरेको निवेदन झिकाउने आदेश दिएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०७:३०
प्रतिक्रिया दिनुहोस्