ADD FOR WEBSIDE ADD FOR WEBSIDE

भारत विश्वकपको फाइनलमा, उपाधिका लागि दक्षिण अफ्रिकासँग भिड्ने

शुक्रबार, असार १४, २०८१


काठमाडौं: आइसीसी टी ट्वान्टी विश्वकप क्रिकेटमा भारत अपराजित रहँदै फाइनलमा पुगेको छ । बिहीवार राति भएको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्याण्डलाई ६८ रनले हराउँदै भारतले विश्वकप उपाधिका लागि दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको हो ।
यसअघि पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका उपाधि दाबेदार बनेको थियो ।
गुयनास्थित प्रोभिडेन्स मैदानमा टस जितेर फिल्डिङ रोजेको इंग्ल्याण्डले १७२ रनको चुनौती पाएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्ड १६.४ आभेरमै अलआउट हुँदै १०३ रनमा समेटियो । 


इंग्ल्याण्डका लागि ह्यारी ब्रुकले सर्वाधिक २५, जोस बटलरले २३, जोफ्रा आर्चरले २१ तथा लियम लिभिङस्टोनले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो स्कोर बनाउन सकेनन् । बलिङतर्फ भारतका लागि अक्षर पटेल र कुलदीप यादवले समान तीन तीन र जसप्रित बुमराहले दुई विकेट झारे ।


त्यसअघि शुरुवाती ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रनको योगफल तयार गरेको थियो । उसका लागि रोहित शर्माले अर्धशतकीय पारी खेले । ३९ बलका सामना गरेका शर्माले ६ चौका र २ छक्काको मद्दतमा ५७ रन जोडे । सूर्यकुमार यादवले ४७, हार्दिक पाण्डेयाले २३, रविन्द्र जडेजाले अविजित १७  तथा अक्षर पटेलले १० रनको योगदान गरे । 
बलिङतर्फ क्रिस जोर्डनले ३ तथा रइस टोप्ले, जोफ्रा आर्चर, साम चुरन र आदिल रसिदले समान एक एक विकेट लिए । भारत र इंग्ल्याण्डबीचको खेल वर्षा बाधक बन्दा ढिला गरी शुरु भएको थियो ।


उपाधिका लागि भारतले शनिबार दक्षिण अफ्रिकाको सामना गर्नेछ । खेल बेलुका नेपाली समय अनुसार सवा ८ बजे शुरु हुनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०७:२४
प्रतिक्रिया दिनुहोस्