ADD FOR WEBSIDE ADD FOR WEBSIDE

दशौं राष्ट्रिय खेलकुदमा ४१९ स्पर्धाको प्रस्ताव

बिहीबार, असार २७, २०८१

काठमाडौं :१० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा ४१९ स्पर्धाको प्रस्ताव गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टङ्कलाल घिसिङले कर्णाली प्रदेशमा हुने १० औँ राष्ट्रिय खेलकुदमा ३५ खेलमा चार सय १९ स्पर्धा प्रस्ताव गरेका हुन् । १०औँ राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुदका सन्दर्भमा आज बसेको बैठकमा घिसिङले नवौँ राष्ट्रिय खेलकुदमा  समावेश भएका  ३६ खेलमध्ये प्याराग्लाइडिङबाहेक ३५ खेल प्रस्ताव गरेका छन् । 
राखेपले १०औँ राष्ट्रिय खेलकुद आगामी मङ्सिर २ देखि ९ गतेलाई प्रस्ताव गरिसकेको छ । त्यसअघि विभिन्न छ खेलको प्रतियोगिता कात्तिक २७ गतेदेखि सुरु गर्ने प्रस्ताव गरिएको छ । 
महिला फुटबल, उसु, पुरुष÷महिला बास्केटबल, जुडो, पुरुष÷महिला हक्की र तेक्वान्दोलाई १०औँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटनअगावै गर्ने प्रस्ताव गरिएको हो । निर्णायक सङ्ख्या एक हजार चार सय ९९ प्रस्ताव गरिएको छ ।
बैठकमा सदस्य–सचिव घिसिङले १०औँ राष्ट्रिय खेलकुदका लागि नेपाल सरकारबाट ६० करोड रुपैंया बजेट सुनिश्चित भइसकेको जानकारी गराउँदै कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई तयारी अगाडि बढाउन बजेट उपलब्ध गराउने जानकारी गराए ।
उनले बृहत् राष्ट्रिय खेलकुद देशकै ठूलो खेलकुदका रुपमा रहेको हुँदा समयमै आयोजनाको विकल्प नभएको बताउँदै १०औँ राष्ट्रिय खेलकुदलाई सफलतापूर्वक सम्पन्न गर्न सरोकारवाला सबै जिम्मेवार र गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।
प्रतियोगिताको लोगो र मस्कटको छनोट भइसकेको छ । खेल पोशाकको व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित प्रदेशलाई दिनेगरी तयार थालिएको सदस्य सचिव घिसिङले बताएका छन् ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले आवासको व्यवस्थापन कारण कर्णाली प्रदेशको पाँच जिल्लामा २२ देखि २४ खेल मात्र गर्न सकिने भएकाले बाँकी खेलका विषय चाँडै टुङ्गो लगाउनुपर्ने बताए ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  २०:०३
प्रतिक्रिया दिनुहोस्