ADD FOR WEBSIDE ADD FOR WEBSIDE

भलिबल टोलीलाई बालेनले गरे नगद सहित सम्मान

बिहीबार, साउन २४, २०८१

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले काभा महिला भलिवल नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई नगद सहित सम्मान गरेको छ ।

बुधवार भएको फाइनलमा भारतसंग पराजित भएपछि नेपाल उपविजेतामा सिमित बनेको थियो । नेपाली टोलीको हौसला बढाउन मेयर बालेन शाह र उपमेयर सुनिता ढङ्गोल दशरथ रंगाशालाको कभर्डहलमा पुगेका थिए । उपविजेता नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिष्टलाई प्रोत्साहन गर्न नगदसहितको सम्मान गरिएको हो ।

मेयर बालेनले खेलालाडीलाई जनही १ लाख रुपैयाँ, टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिष्टलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरेका थिए । सम्मान प्राप्त गर्ने खेलाडीहरुमा कप्तान अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ्, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठ रहेका छन् ।

टिम म्यानेजर निलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादव र थेरापिष्ट लोकेन्द्रबहादुर कुँवर पनि सम्मानित भएका छन् ।

उक्त अवसरमा बोल्दै मेयर बालेनले भारतविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गरेको बताउँदै नेपाली टोलीमा कुनै कमजोरी नरहेको उल्लेख गरे । भलिबलले सबै नेपालीलाई एउटै ठाउँमा उभ्याएको बताउँर्द उनले  खेलाडीहरुको प्रदर्शनले भलिवल राष्ट्रिय खेल भएको प्रमाणित भएको बताए ।

उनले खेल विकासका लागि खेलाडीको प्रयत्नलाई नतिजामा रुपान्तरण गर्न सरकारी संयन्त्रले काम गर्नुपर्ने खाँचो रहेको बताएका छन् । 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १५:०३
प्रतिक्रिया दिनुहोस्