ADD FOR WEBSIDE ADD FOR WEBSIDE

१० औं राष्ट्रिय खेलकुदका लागि कर्णाली तयारी अबस्थामा

९० प्रतिशत काम सकियो ,बाँकी काम असोज सम्ममा सकाउने
शुक्रबार, साउन ३२, २०८१

काठमाण्डौँ : कर्णाली प्रदेशमा आयोजना हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रतियोगिताकालागि कुनै समय पूर्वाधारनै ठूलो चुनौतिको रुपमा देखा परेको कर्णालीमा अहिले धमाधम मैदानहरु बन्न बनिरहेका छन् । कुनै बाधा अबरोध आएमा सुर्खेत भन्दा बाहिर पनि खेल्न मिल्ने गरी पूर्बाधार समेत बनिरहेका छन् ।

प्रतियोगिताको मुख्य आयोजनास्थल सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश रंगशालाको ९० प्रतिशत काम सकिएको छ भने बाँकी काम असोज सम्ममा सकाउने गरी काम भइरहेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।

स्पोर्टस हब न्यूजसंग कुरागर्दै परिषद्का सदस्य सचिव विश्वामित्र संज्याल भन्छन् "वीरेन्द्रनगर र आसपासमा गरी २४ वटा खेल एकैसाथ खेलाउन सकिने गरी पूर्वाधार तयार गरिएको छ ।"

पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना गर्ने अवसर पाएको कर्णाली भौतिक पूर्वाधारसहित बसोबास ,यातायात, स्वास्थ्य र सुरक्षा तयारीमा समेट जुटेको छ । आगामी मंसिर २ देखि ९ गतेसम्म हुने प्रतियोगितालाई समयमै सम्पन्न गर्न आवश्यक पूर्वाधार निर्माण भइरहेका छन् ।

आवास व्यवस्थापनका कारण २४ खेल मात्रै कर्णालीमा गर्न सकिने अवस्था छ । राष्ट्रिय खेलकुद परिषद् राखेपले नवौं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेल मध्ये प्याराग्लाइडिङ बाहेक ३५ खेल खेलाउन प्रस्ताव गरेको छ ।

अब दशौं खेलकुद प्रतियोगिता सञ्चालनका लागि कर्णालीका कारण र भौतिक पूर्वाधाारको अभाव देखाएर प्रतियोगिता सार्न नपाउने सदस्यसचिव संज्याल बताउँछन् । उनले विगतमा तोकिएको समयमा प्रतियोगिता सम्पन्न गराउन नसकेको भाष्य यो पटक तोड्ने गरी लाग्न आयोजक संघीय सरकारलाई आग्रह समेत गरे ।

कर्णालीमा समयमै प्रतियोगिता सम्पन्न गराउन राष्ट्रिय खेलकुद परिषद् राखेपले पनि सक्रियता जनाएको छ । प्रतियोगिता समयमै सकाउन आवश्यक सबै तयारी सकाएको र सरकारले अपनत्व लिनमात्रै बाँकी रहेको राखेपका प्रचार प्रसार विभाग प्रमुख खुसराज दाहाल बताउँछन् ।

बिहिवारमात्रै  प्रधानमन्त्री केपी शर्मा ओलीले दशौं राष्ट्रिय खेलकुदलाई भव्य र प्रभावकारी बनाउन सरकारले गर्नुपर्ने कामहरुका बारेमा आवश्यक प्रस्ताव ल्याउन निर्देशन दिएका छन् ।

दशौं राष्ट्रिय खेलकुदमा कुल ३६ खेल प्रस्तावित गरिएको छ । अधिकांश खेलकुदहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने गरी प्रस्ताव गरिएको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर २ देखि ९ गते सम्म तय भए पनि प्रतियोगिता अन्तर्गत केही खेलहरु कार्तिक २७ गतेबाट औपचारिक उद्घाटन अगावै गर्ने गरी प्रस्ताव गरिएको हो । 

कार्तिक २७ गते सुरु हुने प्रस्तावित खेलहरुमा महिला फुटबल, उशु, बास्केटबल महिला÷पुरुष, जुडो, तेक्वान्दो र महिला÷पुरुष हक्की रहेका छन् । त्यस्तै कार्तिक २८ गते महिला÷पुरुष ह्याण्डबल सुरु हुनेछ भने कार्तिक २९ गते महिला पुरुष क्रिकेट, फेन्सिङ र मंसिर १ गते महिला भलिबल र फुलकन्ट्याक्ट सुरु हुनेछ ।

प्रस्तावित जिल्ला र खेल :
जुम्ला– फुलकन्ट्याक्ट कराते र बुद्धिचाल
सल्यान– टेबुल टेनिस
हुम्ला–हक्की कहिला÷पुरुष
दैलेख–कबड्डी
कालिकोट–कराते
रुकुम पश्चिम–आइटिएफ तेक्वान्दो

मिति र स्थान प्रस्तावित नगरिएका खेलहरु :
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत १२ वटा विभिन्न खेलहरुको तालिका भने प्रस्तावित गरिएको छैन ।

तालिकामा ति-खेलहरु उल्लेख भए पनि कहिले र कहाँ हुने भन्ने बारे छलफल बाँकी छन् । मिति र स्थान प्रस्तावित नगरिएका खेलहरुमा टेनिस, जिम्न्याष्टिक, सफ्ट टेनिस, स्कवास, आर्चरी, फेन्सिङ्ग, सेपाकताक्रो, सुटिङ्ग, गल्फ, साइक्लिङ्ग, ट्रायथलन, प्याराग्लाइडिङ रहेका छन् । प्रतियोगितामा निर्णायक संख्या १ हजार ४ सय ९९ प्रस्ताव गरिएको छ ।
गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेल मध्ये प्याराग्लाइडिङ बाहेक ३५ खेल प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्