ADD FOR WEBSIDE ADD FOR WEBSIDE

जापान ओलम्पिकमा नेपालको पहिलो सहभागिता कसरी सम्भव भयो ?

शनिबार, भदौ १, २०८१

काठमाडौँ : संसारमा विभिन्न प्रकारका कूटनीति हुन्छन् । यसको विशाल आयाम छ । ओलम्पिक प्रतियोगिता भएकाले यहाँ खेल कूटनीति र हिमाल कूटनीतिसँगको एउटा सन्दर्भ उप्काउँदै छु । दोस्रो विश्वयुद्धमा जापान संसारभरबाट एक्लियो ।

ऊ पराजित देश भयो । पृथ्वीभर विजेता समूह बेलायत, अमेरिका, फ्रान्स र रूसका पक्षधर र मित्रहरु थिए ।  एकातिर अमेरिकी नेतृत्वमा पुँजीवादी खेमा र अर्कोतिर रूसी नेतृत्वमा कम्यूनिष्टहरूका समूह थिए ।

दोस्रो विश्वयुद्धपछि दुवै खेमाले जापानलाई आतंकवादी देशको व्यवहार गर्थे । जापानलाई कुनै पनि देशले कुनै पनि मञ्चमा बोलाउँदैनथे ।  

२००७ सालको फागुनमा भारतले पहिलो एशियाली खेल आयोजना गर्‍यो । ऐतिहासिक सम्बन्धका कारण भारतले जापानलाई पनि बोलायो । दोस्रो विश्वयुद्धमा तहसनहस बनेको जापानसँग दिल्ली आउने भाडा पनि थिएन, स्कूले विद्यार्थीले आफूले खाजा नखाएर र टोलटोलमा ’देशका लागि सहयोग गरौँ’ भन्ने लेखेर चन्दा उठाए ।

त्यसरी संकलित रकमबाट जापानी खेलाडी दिल्ली आए । जापानी टोलीसँग कुनै पनि देशका खेलाडी बोल्न मान्दैनथे । हात मिलाउन पनि तर्किन्थे । 
ओलम्पिकका क्रममा नेपाली र जापानी टोली एउटै भवनमा बस्नुपर्ने भयो । यसमा नेपालीले आपत्ति गरेनन्, जापानी टोलीलाई त जो टोलीसँग परे पनि केही थिएन, आफूलाई दुर्व्यवहार गर्ने नै हुन् भन्ने पक्कापक्की थियो ।

 हात मिलाउन पनि दुवै टोलीलाई समस्या थिएन । एउटा टोलीले टाढैबाट हात जोडेर नमस्ते गर्थ्यो त अर्को टोलीले कोनिचिवा भन्दै शिर झुकाउँथ्यो । पहिलो दिन नै नेपाली टोली जापानी टोलीसँग बोल्न थाल्यो । आपसमा मित्रवत् व्यवहार बन्दै गयो ।

१० दिनपछि बिदा हुँदा दुवैले उपहार दिए । यति निकटता भयो कि नेपालका केही खेल अधिकारी त जापानी टोलीलाई छोड्न विमानस्थल पुगे । यो कुरा नेपाली र जापानी दुवै टोलीले महसुस गरे ।

बिदा हुँदा भएको घटना र उपहार आदानप्रदान भएको कुरा दुवै देशका टोलीले आ–आफ्ना देशमा पुगेर राष्ट्रप्रमुखलाई जानकारी दिए । 
त्यसको केही महिनामा दिल्लीमा भेट भएका जापानी खेल टोलीका सदस्यहरूले चिठी लेख्दै नेपालका हिमाल आरोहण गर्न देऊ भन्दै अनुमति मागे ।  यसका लागि जापानी प्राध्यापक इजाबुरो निसिबोरीलाई नेपाल पठाए ।

 दोस्रो विश्वयुद्धमा पराजय भोगेपछि जापानीले हतास र अपमानित महसुस गर्थे । निसिबोरीले राजा त्रिभुवन, युवराज महेन्द्र र प्रधानमन्त्री मातृकालाई भेटेर जापानीलाई हिमाल आरोहण गर्न दिनुस् भनेर अनुरोध गरे । दोस्रो विश्वयुद्धमा क्षतविक्षत र अपमानित जापानीले आफूलाई उठाउने मौका खोजिरहेका थिए ।

युद्धबाट नैराश्य र खिन्न समाजलाई जोड्ने कुनै अवसर र सफलता खोज्न तल्लीन थिए ।

२००९ सालको चैतमा जापानीहरू मनास्लु हिमाल चढ्न शुरु गरे । ३ वर्ष लगाएर २०१३ साल वैशाख २७ मा जापानी पर्वतारोही तोसियो इमानिसी मनास्लुको शिखरमा पुगे । यो आरोहणले जापानीमा आशा सञ्चार भयो । उनीहरूमा हामी सक्किएका छैनौँ, केही गर्न सक्छौँ र फेरि विश्वमा उदाउन सक्छौँ भन्ने आत्मविश्वास बढ्यो ।

यो घटनाले जापानी जनता र शासकको मनोबल ह्वात्तै बढ्यो । मनास्लु आरोहणको १४० दिनमै २०१३ भदौ १७ गते नेपाल र जापानबीच दौत्य–सम्बन्ध कायम भयो ।
जापानले त्यसको २ वर्षमा २०१५ सालमा एशियाली खेलकुद प्रतियोगिता गर्ने साहस गर्‍यो । त्यसपछि जापान तीव्र गतिमा कुद्यो । त्यति मात्रै होइन, २०२१ सालमा ओलम्पिक प्रतियोगिता गर्ने आँट गर्‍यो।

यो नै एशिया एज्याआशिया महादेशमा भएको पहिलो ओलम्पिक थियो । संसारभरबाट एकल्याइएका वेला नेपालबाट पाएको सद्भाव र मित्रता जापानले सम्झिरह्यो ।

विशेषगरी मनास्लु शिखर आरोहणको मौका दिएकोमा ऊ कृतज्ञ बन्छ । उसले आफ्नो देशमा ओलम्पिक प्रतियोगिता गर्दा नेपाललाई सहभागी हुनैपर्ने विशेष अनुरोध गर्‍यो । त्यही अनुरोधकै कारण तोक्यो (नेपालीले टोकियो भन्ने गरेको) ओलम्पिकदेखि नेपालको ओलम्पिक सहभागिता शुरु भयो । नेपालबाट गएको ओलम्पिक खेल टोलीलाई भेट्न तत्कालीन प्रधानमन्त्री नोबुसुके किसी (उनी जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री हुने सिञ्जो आवेका हजुरबुबा हुन् ) आएका थिए ।
-यसलाई खेल कूटनीति भन्ने कि हिमाल कूटनीति?

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्