ADD FOR WEBSIDE ADD FOR WEBSIDE

४२ खेलाडीलाई पुरस्कार : दुई करोड ९७ लाख १० हजार रुपैंया

बिहीबार, वैशाख २७, २०८१

काठमाडौं : सरकारले नेपाली खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार रकम ६ महिनापछि बल्ल मन्त्रीपरिषद् बैठकबाट पारित भएको छ । 
आइसिसी पुरुष टी–२० विश्वकप एसिया छनोटमा दोस्रो भएको राष्ट्रिय क्रिकेट टिम र चीनमा भएको १९ औँ एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकलाई दिने भनिएको नगद पुरस्कार बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले पारित गरेको हो । 
बैठकले खेलाडीलाई दुई करोड ९७ लाख १० हजार रुपियाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिईन् ।
युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई मन्त्री परिषद्ले अनुमोदन गरेसँगै खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका छन् । 
आइसिसी पुरुष टी–२० विश्वकप छनोट खेलेको राष्ट्रिय क्रिकेट टिमले कुल दुई करोड ४ लाख ७५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछ । १५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईले तीन लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिँजियो विक्रम न्यौपानेले जनही एक लाख ९५ हजार रुपैंया प्राप्त गर्नेछन् ।
१९ औँ एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाउन सफल एरिका गुरुङले १९ लाख ५० हजार रुपैंया पाउँदा प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले दुई लाख ३४ हजार, सहायक प्रशिक्षक छोरी डङ्गोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवास गोपाल वैद्याले एक लाख ९५ हजार रुपैंया पाउनेछन् । एसियन गेम्समा रजत विजेता कराते टिमले कुल २५  लाख ३५ हजार रुपियाँ प्राप्त गर्नेछ । 


एसियाली खेलकुदमा नै कबड्डीमा कांस्य जित्ने नेपाली राष्ट्रिय महिला कबड्डी टिमका १२ खेलाडीले जनही तीन लाख ९० हजार, प्रमुख प्रशिक्षक पार्वती राईले दुई लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णु दक्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही एक लाख ३० हजार रुपैंया हात पार्नेछन् । कबड्डी टोलीले कुल ४८ लाख दश हजार रुपियाँ प्राप्त गर्नेछ । 
चौथो एसियाली पारा खेलकुद २०२२ मा कांस्य जितेकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनले १३ लाख, प्रमुख प्रशिक्षक कविराज नेगी लामाले दुई लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले एक लाख ३० हजार रुपैंया हात पार्नेछन् ।
लामो समयदेखि सरकारले घोषणा गरेको पुरस्कार प्रदान गर्न खेलाडीले बारम्बार गरेको अनुरोधलाई प्रमुख एजेन्डा बनाएर यसको लागि धैरै मिहिनेत गर्नु परेको युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बताएका छन् ।
यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले मन्त्री श्रेष्ठसँगको भेटका क्रममा सरकारले घोषणा गरेको पुरस्कार रकम छिट्टै दिलाउन स्मरण गराएका थिए ।

सरकारको निर्णयसँगै नेपाल क्रिकेट संघले धन्यवाद व्यक्त गरेको छ । "नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले  गत नोभेम्बरमा घरेलु मैदानमा आईसीसी टी(२० विश्वकप एसिया क्षेत्र फाइनलमा पुग्दै दोस्रो भएको नेपाल क्रिकेट टिमले प्राप्त गर्ने पुरस्कारको रकम निकासा गर्ने निर्णय गरेकोमा नेपाल सरकार संगै युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद् प्रति नेपाल क्रिकेट संघ हार्दिक धन्यवाद व्यक्त गर्दछ ।" क्यानले सामाजिक सञ्जालमा लेखेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  २१:२५
प्रतिक्रिया दिनुहोस्