सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको सर्वाधिक रनको किर्तिमान भंग भएको छ ।
पुरुष टी–२० विश्वकप अफ्रिका उप–क्षेत्रीय छनोट प्रतियोगितामा जिम्बाब्वेले आज (बुधवार) गाम्बियाविरुद्ध ४ विकेटको क्षतिमा ३ सय ४४ रन बनाएर टि–२० क्रिकेटमा सर्वाधिक रन बनाउने नेपालको कीर्तिमान तोडेको हो ।
उक्त खेलमा जिम्बाब्वे २९० रनले विजयी भयो । केन्याको रुआरका स्पोर्ट्स क्लब मैदान, नैरोबीमा टस जितेर पहिले ब्याटिङ थालेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ३४४ रनको बिशाल स्कोर खडा गर्यो ।
उसकालागि कप्तान सिकन्दर राजाले अविजित रहँदै सर्वाधिक १३३ रनको योगदान गरे । ४३ बलको समाना गरेका उनले ७ चौका र १५ छक्का प्रहार गरेका थिए । तडिवानासे मारुमणिले ६२ रन जोड्दा क्लाइभ मडान्डेले अविजित ५३ रन बनाए । ब्रायन बेनेटले ५० रन जोडे ।
जितकालागि ३४५ रनको लक्ष्य पछ्याएको गाम्बिया १४.४ ओभरमा सबै विकेट गुमाउँदै ५४ रनमा समेटियो । उसकालागि आन्द्रे जाजले सर्वाधिक १२ रन जोडेपनि अन्य कुनैपनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
सन् २०२३ को सेप्टेमबर २७ मा चीनको हान्झाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले मंगोलियाविरुद्ध ३१४ रनको विश्व कीर्तिमान बनाएको थियो ।