सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :१९ बर्ष मुनिको महिला टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपालले कुबेतमाथि फराकिलो जित निकालेको छ ।
आज भएको आफ्नो पाँचौ खेलमा नेपालले कुबेत बिरुद्ध १६५ रनको जित निकालेको हो । जितका लागि २१४ रनको विशाल लक्ष्य पछ्याएको कुबेत १३ ओभरमा अलआउट हुँदै ४८ रनमा समेटियो ।
उसकालागि जिफा जिलानीले सर्वाधिक ३६ तथा आयशा इकबाल पेवेकाले ४ रन बनाएपनि अन्य कुनै पनि खेलाडीले दोहारो अंकको रन बनाउन सकेनन् । ईशान्वी मोहन सिंहले एक रन जोडेपनि अन्य ७ खेलाडी शुन्य रनमा पभेलियन फर्किए ।
कुबेतलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ कप्तान पूजा महत्तो एक्लैले ५ विकेट लिईन् । सीमा केसी र रचना कुमारी चौधरीले समान दुई-दुई विकेट लिईन् ।
त्यसअघि युएईको सेभेन डिस्ट्रिक ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा २१३ रन बनाएको थियो । नेपालका लागि कप्तान पूजा महत्तोले बिस्फोटक ब्याटिङ गर्दै किर्तमानी शतकीय पारी खेलिन् । ६९ बलको सामना गरेकी उनले १७ चौका प्रहार गर्दै अविजित १३० रन बनाईन् । सोनी पाख्रिनले ४३ रन बनाईन् । साबीत्री धामीले ११ तथा साना प्रविनले ६ रन बनाईन् ।
जारी प्रतियोगिताको शिर्ष स्थानमा रहने एक टोली विश्वपकमा पुग्नेछ ।
थाईल्याण्ड र कुबेतको लगभग सम्भावना सकिएकाले अब नेपाल र युएईमध्ये एक टोली विश्वकपमा पुग्नेछ ।शिर्ष स्थानमा पुग्न आज नेपालले कुबेतलाई हराउनैपर्ने दबाब छ । बिहिवार हुने अन्तिम खेलमा युएईलाई पराजित गरेमा नेपाल विश्वकपमा छनौट हुनेछ । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् ।
सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।