टी–२० विश्वकप छनौट

नेपालको कसिलो बलिङमा युएईले दियो ८४ रनको लक्ष्य

बुधबार, कात्तिक २८, २०८१

काठमाडौँ :नेपालले कसिलो बलिङ गरेपछि आईसीसी १९ बर्ष मुनिको महिला टी–२० विश्वकप छनौटमा युएईबाट ८४ रनको मध्यम लक्ष्य पाएको छ ।

द सेभेन स्टेडियममा टस जितेर पहिले ब्याटिङ थालेको घरेटोली युएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर ८३ रन मात्र बनाउन सक्यो  । युएईकालागि समाइरा धरनिधर्कले सर्वाधिक ३१ रनको योगदान गरिन् । रिनिता राजितले २० तथा इन्धुजा नन्दकुमार र लावन्या केनीले समान १०-१० रन बनाईन् ।

युएईलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ कृष्मा गुरुङले सर्वाधिक चार विकेट लिईन् । रिया शर्मा र सीमा केसीले दुई-दुई विकेट लिदाँ रचना कुमारी चौधरीले एक विकेट हात पारिन् ।

नेट–रनरेटमा नेपालभन्दा युएई अघि रहेकाले नेपालले युएईमाथि सामान्य जितले अर्थ राख्ने देखिँदैन । विश्वकप पुग्न युएईलाई फराकिलो अन्तरले हराउनुपर्नेछ । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् ।

सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्