महिला टी–२० विश्वकप छनौट

युएईलाई हराउँदै नेपाल महिला टी–२० विश्वकपमा 

बुधबार, कात्तिक २८, २०८१

काठमाडौँ :युएईलाई हराउँदै नेपाल १९ बर्ष मुनिको आइसीसी महिला टी–२० विश्वकपमा छनौट भएको छ ।

आज भएको समुह चरणको अन्तिम खेलमा युएईलाई उसैको मैदानमा आठ विकेटले हराउँदै नेपाल पहिलो पटक विश्कपमा पुगेको हो । युएईले दिएको ८४ रनको मध्यम लक्ष्य नेपालले १४.२ ओभरमा २ विकेटको क्षतिमा भेटायो । नेपालको जितमा साना प्रविनले सर्वाधिक अविजित रहँदै ३५ रनको योगदान गरिन् । कप्तान पूजा महत्तोले २१, साबित्री धामीले १२ रन बनाईन् ।

त्यसअघि द सेभेन स्टेडियममा टस जितेर पहिले ब्याटिङ थालेको घरेटोली युएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो  । युएईकालागि समाइरा धरनिधर्कले सर्वाधिक ३१ रनको योगदान गरिन् ।

रिनिता राजितले २० तथा इन्धुजा नन्दकुमार र लावन्या केनीले समान १०–१० रन बनाईन् ।युएईलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ कृष्मा गुरुङले सर्वाधिक चार विकेट लिईन् ।

रिया शर्मा र सीमा केसीले दुई–दुई विकेट लिदाँ रचना कुमारी चौधरीले एक विकेट हात पारिन् । छनोट खेलमा आयोजक युएईसहित, कुवेत र थाइल्याण्डलाई पछि पार्दै नेपालले विश्वकमा स्थान बनाएको हो ।

नेपालले सन् २०२५ मा मलेसियामा हुने विश्वकप खेल्नेछ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्